Call Us Today +447450274504

किन शिवजीको पूजा रात्रिको समयमा गरिन्छ, त्यो पनि फाल्गुण कृष्ण चर्तदशीको दिन ? हरेक महिना कृष्ण पक्ष चतुर्दशी तर किन शिवरात्री मानिदैँन?

blog_img

किन शिवजीको पूजा रात्रिको समयमा गरिन्छ, त्यो पनि फाल्गुण कृष्ण चर्तदशीको दिन ? हरेक महिना कृष्ण पक्ष चतुर्दशी तर किन शिवरात्री मानिदैँन?

 

फाल्गुण कृष्णपक्ष चतुर्दशी महाशिवरात्रीको नामले प्रसिद्ध छ । भगवान शङ्करको पूजा गर्ने मुख्य दिन हो शिवरात्री । अन्य देवीदेवताहरुको पूजा आराधना दिउँसो गरिन्छ, तर शिवजीको पूजा रात्रिको समयमा गरिन्छ, त्यो पनि फाल्गुण कृष्ण चर्तदशीको दिन । किन?
 
भगवान शङ्कर संहारशक्ति तथा तमोगुणका अधिष्टातृदेवता हुन् । त्यसैले अन्धकारयुक्त रात्रि शिवजीलाई प्रिय लाग्नु स्वभाविक नै देखिन्छ । रात्री संहारकालको प्रतिनिधि हो, किनकि रात पर्नु भनेको प्रकाशको संहार हुनु हो, जीवको दैनिक क्रियाकलापका साथै चेतनाको पनि संहार हुन्छ र सम्पूर्ण विश्व अचेत भएर निन्द्रामग्न हुन्छ । यस्तो स्थितिमा प्राकृतिक दृष्टिले पनि रात्रीकाल संहारका अधिष्टातृदेवता शिवजीलाई अन्धकार प्रिय हुनु स्वभाविक देखिन्छ । 

शिवरात्री मात्र नभएर अन्य रात्री पनि शिवजीलाई उत्तिकै प्रिय हुन्छन् । जस्तै – प्रदोषको समयमा पनि शिवजीको विशेष पूजा आराधना गरिन्छ । शुक्ल पक्ष चन्द्रमा क्रमशः पूर्ण स्थितिमा आउने भएकाले चराचर जगतका सम्पूर्ण रसवान् पदार्थहरुको पनि क्रमशः वृद्धि हुँदै जान्छ । त्यसैगरी कृष्णपक्षमा चन्द्रमा क्षीण हुँदै जाने र रसवान् पदार्थहरु पनि क्षीण हुन्छन् । चराचर जगत्का हृदयका अधिष्ठातृदेवता चन्द्रमा कृष्णपक्षको औंशीमा एकदमै क्षीण हुने हुँदा त्यसको प्रभाव भूमण्डलका सम्पूर्ण प्राणीमा पर्दछ । फलस्वरुप प्राणीको अन्तः करणमा तामसी शक्ति प्रबल हुन्छ, जस्ले गर्दा अनेक प्रकारका नैतिक एवम् सामाजिक अपराधहरुको उदय हुन्छ, जसलाई भूतप्रेत आदि भनिन्छ । यी भूतप्रेत आदिलाई भगवान् शिवको गण भनिएको छ ।  दिनको समयमा ती तामसी प्रवृतिका भूत, प्रेत आदिले सूर्यको प्रकाश एवं जीवको जागरुकताका कारण तामसी शक्तिको विशेष प्रभाव देखाउन सक्दैनन् । कृष्ण पक्षको अन्धकारमय रात्रीको आगमनसँगै यिनको प्रभाव पनि प्रबल हुने गर्दछ । भगवान् शिवलाई कृष्णपक्षको अन्धकारमय रात्री प्रिय हुन यो एक कारण पनि हो । अमावस्या (आंैशी तिथि) आउनुभन्दा अगाडि नै ती भूत, प्रेत आदि तामसी शक्तिहरुलाई शान्त गर्नका लागि एकमात्र उपाय उनका अधिष्ठातृदेवता भगवान् आशुतोष शिवजीको आराधनाको विधि शास्त्रमा उल्लेख गरिएको छ । 

कृष्णपक्षको यही रात्रीमा शिवजीको आराधना गर्ने नियम बनाइएको हो । यहाँ सन्देह भने हरेक महिना कृष्ण पक्ष चतुर्दशी हुन्छन् तर किन शिवरात्री मानिदैँन?

हरेक महिनाको चतुर्दशीलाई शिवरात्री भनिँदैन तर शिवको आराधना गर्ने रात्री भने अवश्य हो । पञ्चाङ्गमा यस्को नाम भित्रभित्र रुपमा उल्लेख गरिएको छ । हरेक महिनाको कृष्णपक्ष चतुर्दशी शिवजीको आराधना गर्ने विशेष दिन हो । यही कुरालाई पुष्टि गर्नका लागि फाल्गुण कृष्णपक्षलाई स्पष्ट रुपमा “महाशिवरात्री” भनिएको छ । क्षयपूर्ण तिथि अर्थात् औँशीको दष्प्रभावबाट बच्नको लागि एक दिन पहिले अर्थात् चतुर्दशीको रात्रीमा शिवजीको उपासना गरिन्छ । त्यसै गरी क्षयपूर्ण तिथिहरुको अन्तिम महिना भन्दा एक महिना अगाडि अर्थात् चैत्र महिनाभन्दा एकमहिना पूर्व फाल्गुणमा यो पर्वको  वर्णन गरिनु युक्तिसङ्गत देखिन्छ किनकी पर्व वर्षको उपान्त्य महिना तथा महिनाको उपान्त्य दिनमा मनाउने गरिन्छ । किनकी यस समयमा अज्ञात शक्तिको सत्तामा प्राकृतिक सुन्दरताको पनि संहार भइरहेको हुन्छ । 

चारैतिर उजाड वातावरण, पतझडका कारण प्रकृति सुख्खा र फुुस्रो देखिन थाल्दछ । यस्तो लाग्छ कि भगवान् शिवको रौद्रशक्ति प्राकृतिक सुन्दरताको संहारमा लागेको छ । रुद्र एकादश रुपमा हुने भएकाले वर्षको ११ औँ महिना अर्थात् फाल्गुणमा शिवजीको पूर्ण स्वरुपको अवस्थामा महाशिवरात्री पर्वको निरुपण गरिएको हो । प्राकृतिक सुन्दरताका प्रदाताका रुपमा शिवजीको पूजा आराधना गरिन्छ । फलस्वरुप महिनाको अन्त्यमा अर्थात् वसन्त ऋतृको आगमन सँगै  सम्पूर्ण प्रकृति हरियाली युक्त हुन्छ । प्राकृतिक  सुन्दरता चरम उत्कर्षमा पुग्छ । मानौँ शिवजी प्रसन्न भई प्राकृतिक संहार छोडेर शान्त र कल्याणकारी शङ्कर बनेर विराजमान हुनुहुन्छ । त्यसैले महाशिवरात्रीका दिन शिवको उपासना, पूजा आराधना गर्नु आध्यात्मिक, पारमार्थिक रुपले मात्र नभइ जीवन सरल र सहजताका साथै प्रकृतिसँग जीवको सम्बन्धलाई अझ धनिष्ठ बनाउनका लागि पनि आशुतोष शिवको  आराधना यस समयमा गर्नु सान्दर्भिक छ ।